खबर समृद्धि न्युज डेष्क ।
काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै कुनै उद्योग÷व्यवसाय सुरु गर्न चाहने एक हजार युवालाई एनएमबी बैङ्कले एक वर्षमा एक अर्ब रुपियाँ लगानी गर्ने भएको छ । युवालाई स्वदेशमै स्वरोजगारको वातावरण तयार गर्न सहज कर्जा प्रवाहका लागि यस्तो व्यवस्था गर्न लागिएको हो ।
राष्ट्रिय युवा परिषद्को पहलमा बैङ्क, रिटर्नी माइग्रेण्ट नेपाल (वैदेशिक रोजगारीबाट फर्केका युवाको संस्था) र परिषद्बीच मङ्गलबार त्रिपक्षीय सम्झौता भएको छ । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल, बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र रिटर्नी माइग्रेण्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।
रिटर्नी माइग्रेण्ट नेपालको सिफारिसमा परिषद्ले परामर्श तथा तालिम दिने र बैङ्कले ऋण उपलब्ध गराउने सहमति भएको छ । नेपाल सरकारले ल्याएको सहुलियतपूर्ण कर्जाको प्रभावकारी कार्यान्वयन र युवालाई उत्पादनसँग जोड्दै स्वरोजगारका अवसर सिर्जना गर्न सहयोग पुर्याउने उद्देश्यका साथ यो सम्झौता गरिएको बताइएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा काम गर्न चाहने युवाका लागि सहयोग गर्न खोजिएको स्पष्ट पार्दै बैङ्कका कार्यकारी अधिकृत केसीले भन्नुभयो– “बेरोजगारी समस्यालाई समाधान गरौँ भनेर काम गर्न खोजेका हौँ ।” धेरै नेपाली युवा विदेशमा श्रम गरिरहेको अवस्था उल्लेख गर्दै उहाँले यो सम्झौताले सकारात्मक सन्देश जाने बताउनुभयो । उहाँले सहुलियत कर्जाको कार्यविधि र अन्य व्यवस्था अनुसार पनि थप कर्जा प्रदान गर्न सकिने पनि जानकारी दिनुभयो । रिटर्नी माइग्रेण्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले सरकारले ल्याएको सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि सहजरूपमा प्राप्त गर्नसक्ने अवस्था नभएका कारण यस्तो सम्झौता गर्नुपरेको बताउनुभयो ।
सैद्धान्तिक रूपमा नीति आए पनि त्यसको कार्यान्वयनको पक्ष सहज नहुने भएकाले एनएमबी बैङ्कसँग यस्तो सम्झौता गरिएको उल्लेख गर्दै उपाध्यक्ष ढुङ्गेलले भन्नुभयो । युवालाई उद्यमसँग जोड्नका लागि सहजरूपमा कर्जा उपलब्ध गराउने विषयमा अन्य निजी बैङ्कहरूसँग पनि अनौपचारिक छलफल र प्रयास भइरहेको छ । यसरी जाँदा कर्जाका लागि प्रत्यक्षरूपमा आउनेलाई बैङ्कले छनोट गर्नु नपर्ने भएको जानकारी दिँदै अध्यक्ष अधिकारीले भन्नुभयो, “पूर्णरूपमा हामीले छनोट गरेर सिफारिस गर्छौं, परिषद्ले तालिम र परामर्श दिन्छ ।” आजको गोरखापत्रमा खबर छ ।
प्रकाशित मिति : २०७६|०१|२६