सौराहा, खबर समृद्धि न्युज डेष्क । चितवनको पर्यटन प्रर्बद्धनको लागि पर्यटकीय नगरी सोराहामा सोमवार देखि १३ औं सौराहा फुड फेष्टिवल सुरु भएको छ । फेष्टिवलको पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सांसद सुरेन्द्र पाण्डेले उद्घाटन गरेका थिए । भ्यालेन्टाइन डे को अवसर पारी रेष्टुरेण्ट एण्ड बार एशोसियन(रेवान) सौराहाले आयोजना गरेको फेष्टिवलको उद्घाटन गर्दै नेता पाण्डेले सौराहाको धर्मिक , सांस्कृतिक र पर्यटन विकासका लागि यस्ता मेला महोत्सवले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुका साथै सिटिहल निर्माणको काम पनि सुरु भइसकेको बताए ।
त्यसै क्रममा बोल्दै प्रदेश सभा सांसद कृष्णप्रसाद खनाल,जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी,मेयर नारायण वनले सरकार र व्यवसायी बीचको सयुक्त प्रयासले मात्र सौराहाको विकास सम्भव रहेको बताए ।
रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा फेष्टिवलका संयोजक ध्रुव गिरीले स्वागत मन्तव्य राखेका थिए । फेष्टिवलमा विदेशी सहित विभिन्न जातजातीका परम्परागत खाना राखिएको र फेष्टिवल परिसरमा थारु समुदायको परम्परागत घर बनाएर सो घरबाट चिचर र घोँगी खाने व्यवस्था मिलाइएको महोत्सवका संयोजक गिरीले बताए । संस्कृति संरक्षणसंगै स्थानीय स्तरमा उपलब्ध हुने खानाको गुणस्तर बृद्धि गर्ने फेष्टिवलको अर्को उद्देश्य रहेको उनले बताए ।
यस बर्ष फेष्टिवलमा प्लाष्टिकको प्रयोग न्यूनीकरण गरिएको छ । फेष्टिवलमा प्रथम मेयर कप भलिवल प्रतियोगिता,रेष्टुरेन्टका कर्मचारी बीच बेटर रेस,प्रेमपत्र लेखन,वालवालिका बीच बेलुन फुटाउने,उत्कृष्ट खाना,घैला रंगाउने प्रतियोगिता गरिने रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए ।
फेष्टिवलबाट भएको आन्दानीबाट वडा नं ५,६,७ र ८ का आर्थिक अभावले विद्यालय जान नपाएका वालवालिकालाई शिक्षा प्रदान गर्न कोष निर्माण गर्ने,उज्यालो सौराहा कार्यक्रमलाई निरन्तरता दिने,घुम्ती शौचालन सञ्चालन गर्ने,सौराहाको सरसफाईको ५ प्रतिशत रकम विनियोजन गरिने छ । फेष्टिवल उद्घाटन कार्यक्रममा रेवान सौराहाले जीवन चौधरी,डोनिस तामाङ र सुखाडी माझीलाई ह्वीलचियर प्रदान गरेको थियो ।
उद्घाटन कार्यक्रममा वीरगञ्ज स्थित भारतीय महाबाणिज्य दुतावासका महावाणिज्य दुत रमेश चर्तुर्वेदी,वडा नं ६ का वडा अध्यक्ष बलराम दाहाल,मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगाना,रेवान महिला समूहकी अध्यक्ष माला दाहाल,नारी चेतना बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष विविता चौधरी लगायतले मन्तव्य राखेका थिए ।
उद्घाटन पूर्व निकुञ्ज प्रवेशद्बारबाट विभिन्न सांस्कृतिक पहिरन झल्कने भेशभूषा र बाजागाजा सहितको शोभायात्रा निकालिएको थियो । सौराहा नजिक रहेको सिसुवार खेल मैदानमा आजबाट सुरु भएको फुडफेष्टिवल फाल्गुन ३ गतेसम्म चल्ने छ।
प्रकाशित मिति: २०७५|१०|२८